५ वर्षीया बालिकालाई सर्पले डस्दा मृत्यु

रुपन्देही, १० साउन । रुपन्देहीको मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तवरेजलाई घरअंा खेलिरहेका बेला सर्पले डसेको थियो ।

घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेपछि उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा उपचार गर्न लगिएको जनाइएको छ । उनको क्रममा मृत्यु भएको प्रहरीले जनएको छ ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, १० साउन। आज श्रावण शुक्ल पञ्चमीका दिन अर्थात नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ ।यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै रहिआएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ ।नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसी आएको धार्मिक बिश्वास रही आएको छ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनबिश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको छ ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ । शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको छ ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा बिभिन्न किसिमका किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंबदन्ती यस्तो छः एक किसानले आˆनो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानदेखि क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर किसानका श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी “मलाई नमार्नुस्, म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु” भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् ।

किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले “तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग” भनेपछि किसानकी छोरीले आˆना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनबिश्वास छ ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रबर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएपछि गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि इतिहासमा उल्लेख छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *