हिम्मत भए निर्वाचनमा सहभागी भइ जनताको माझमा आउ : प्रधानमन्त्री ओली

सिराहा, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास र मुलुकमा शान्ति स्थापना गर्न आफू नेतृत्वको सरकार संसद् विघटन गरेर नयाँ जनमत लिने प्रक्रियामा अगाडि हिँडेको दाबी गरेका छन् । ओलीले कुनै हालतमा संसद पुनःस्थापना नहुने बताएका छन् । सिरहा सदरमुकाममा आज आयोजित तत्कालिन नेकपा एमालेका नेता सहिद हेमनारायण यादवको १७ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनः स्थापना गराएर प्रधानमन्त्री बन्ने सपना देखेकाहरुलाई त्यो सपना नदेख्न चेतावनी दिए ।

उनले हिम्मत भए निर्वाचनमा सहभागी भइ जनताको माझमा आउन आन्दोलनरत पक्षहरुलाई चुनौती समेत दिए । ‘अबको संसद्लाई फेरि जोडघटाउ र किनबेचको थलो बनाउने प्रयास गरेकोले नै मैले संसद्को विघटनको सिफारिस गरेको हुँ’, उनले भने, ‘संवैधानिक संकट उत्पन्न हुन लागेको अवस्थामा भएको यो विघटन पूर्ण रुपले संवैधानिक छ र निर्धारित मितिमा चुनाव पनि निर्बाध रुपले सम्पन्न हुन्छ ।’

चुनावी सभाझैं गाउँगाउँबाट जनता भेला गरिएको स्मृति सभामा प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा चुनाव हुने भएकाले देश बनाउने पक्षधरलाई जिताउन आह्वान गरे । ‘संसद् विघटन गरेर ताजा जनादेशका लागि तपाईंहरुमाझ आएको छु,’ उनले भने ‘विकासको पक्षमा आउने शक्तिलाई साथ दिएर जिताउनुस् ।’

उनले आफ्नो जीवन रहेसम्म विकास र सुशासनलाई पूर्णरुपले स्थापित गरी देशलाई नयाँ र समृद्ध नेपालको रुपमा विश्वभर चिनाउने प्रयासमा लागिरहने बताए । केही तत्त्वहरुले जनतालाई भड्काएर र अन्योलमा राखेर भत्काउने र बिगार्ने कामहरु मात्र गर्न जानेको उल्लेख गर्दै त्यस्ता तत्त्वहरुको षडयन्त्रलाई चिर्दै आफूले देश बनाउने काममा मात्र ध्यान दिन थालेको बताए ।

ओलीले ‘प्रचण्ड–माधव पक्षको आन्दोलनप्रति लक्षित गर्दै अब रक्तपातपूर्ण आन्दोलनमा जनताले साथ नदिने दाबी गरे । उनले आफ्नो सरकारको पालामा विकासका धेरै गतिविधिहरु भएको भन्दै अब चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुने पनि सुनाए । उनले भने, ‘तरार्ईका भूमिलाई सिञ्चाईको जरुरी छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ, अब यहाँको भूमि सिञ्चाईको लागि चाँडै सुनकोशी कमला डाइभर्सन शिल्यान्यास हुन्छ ।’

स्मृतिसभामा मन्त्री टोपबहादुर रायमाझीले आफू विकास, समृद्धि, शान्ति र सुशासनको पक्षमा रहेको र त्यसको लागि प्रधानमन्त्री ओली उपयुक्त पात्र भएको जिकिर गरे । कार्यक्रममा मन्त्रीहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, जुली महतो, नेता रघुवीर महासेठ लगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने क्रममा प्रचण्ड–माधव पक्षका युवा विद्यार्थीले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने करिव १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर ५ घण्टापछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्