नेपाली चलचित्रका सम्पादक अनिल गौतमको दुर्घटनामा मृत्यु

काठमाडौं, २७ भदौ । दर्जनौं नेपाली फिल्मको दृश्य सम्पादन गरेका अनिल गौतमको दुर्घटनामा परी मृत्यु भएको छ । शुक्रवार साँझ कार्यालयबाट घर फर्किने क्रममा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।

गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटार निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो ।

दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौतम पछिल्लो समय पाइम टेलिभिजनसँग आवद्ध रहेका थिए ।

उनलाई ठक्कर दिने टिपरका चालकलाई शुक्रवार साँझ नै प्रहरीले पक्राउ गरिसकेको छ । ५२ वर्षीय सम्पादक गौतम भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो ।

अनिल गौतमले लामो समय चलचित्र विकास कम्पनी (एनएफडीसी) मा फिल्म सम्पादकको रुपमा काम गरेका थिए । योसँगै विभिन्न कम्पनीमा आबद्ध भएर पनि उनले फिल्मको दृश्य सम्पादन गरेका थिए । उनले पछिल्लो पटक सम्पादन गरेको फिल्म ‘टिन एज’ हो । उनको निधनप्रति फिल्मकर्मीहरुले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्