काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान अनुरूपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न सरकारलाई आग्रह गरेका छन् । संविधान दिवसका अवसरमा सभापति देउवाले दिएको शुभकामना सन्देशमा संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी भएको बताए ।
शुभकामना सन्देशमा लेखिएको छ, ‘‘संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरूपको व्यवहार जरुरी हुन्छ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरू क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ।’
तर, त्यसपछिका दिनमा संविधानको सफलताका लागि बाँकी कार्यभार पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपा नेतृत्वको सरकारबाट भइरहेको आरोप देउवाको आ’रोप छ । यसलाई आफूले गम्भीरता पूर्वक लिएको उनको भनाइ छ । संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन संविधान दिवसले प्रेरणा प्रदान गर्ने देउवाले विश्वास व्यक्त गरे ।
देउवाले संविधान उत्कृष्ट भएपनि पछिल्लो समय संविधानको कार्यान्वयन भने प्रजाको पक्षमा हुन नसकेको बताएका छन । कम्युनिष्ट सरकार वाक स्वतन्ता समेत हनन गर्दै एकदलीय शासन ल्याउन उद्धत रहेको उनको आ’रोप छ ।