शव व्यवस्थापनमा झडप हुँदा ७ प्रहरी घाइते

पर्सा, १७ साउन। नेपालमा पछिल्लो समय कोरोनाको महामारीले उग्ररुप लिँदै गएको अबस्थामा संक्रमितदर र मृत्युदर पनि क्रमशः बढ्दै गएका छन्। कतिपय स्थानमा मृतकको शव व्यवस्थापनमा विवाद पनि भइरहेको छ । यसैबिच पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।

संक्रमितको शव व्यवस्थापनमा अवरोध गरेपछि पर्साको वीरगञ्ज महानगरपालिका–३१ मिलन चोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्याँस प्रहार गरेको छ ।

स्थानीयको उक्त अवरोधकैबीच कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

शव व्यवस्थापनका लागि जङ्गल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुङ्गा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भिडलाई नियन्त्रणमा लिन आधा दर्जन सेल अश्रु ग्याँस प्रहार गर्नु परेको एसपी पन्तले जानकारी दिइन् ।

उनले भनिन्, ‘सम्झाइ बुझाइ गर्दा पनि नमानेर उल्टै प्रहरीलाई नै ढुङ्गा हान्न थाले । आधा दर्जन जति अश्रुग्यास हानेर भिडलाई तितर वितर पारेर शव व्यवस्थापनका लागि जङ्गल पठायौं ।’

त्यस क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको बताइएको र ७ जना प्रहरी घाइते भएका छन् ।

गाउँ नजिकै जङ्गलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको मिलन चोकका प्रकाश अर्याल बताउँछन् । ‘पहिलो पटक संक्रमितको शव ल्याउँदा पनि प्रदर्शन भएको थियो, अर्को पटक नल्याउने भनेपछि प्रदर्शन रोकिएको हो । दोस्रो पटक टेडाका बासिन्दाले बाटैमा रोकेर फर्काइ दिए,’ उनले भने, ‘तेस्रो पटक शव ल्याउँदा मिलन चोकमा झडप नै भयो ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्