भरतपुर अस्पतालको आइसोलेसनबाट संक्रमित भागे

चितवन, भदौ ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो ।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ संक्रमितको उपचार भइरहेको छ ।

निषेधाज्ञामा टोलटोलमा रक्तदान

जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ ।

मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५/१५ युनिट रगत सङ्कलन भएको छ । अभियानलाई निरन्तरता दिइने उनले बताए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत सङ्कलन गरिने छ । हाल जिल्लामा निषेधाज्ञा जारी छ । नेपाल सरकारको सङ्क्रमण ऐनभित्र रही सम्पूर्ण कार्य गरिने उनले जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्