अन्तत: नेपाल आइपुग्यो अन्तर्राष्ट्रियस्तरको मापदण्डमा तयार पारिएको ब्रोडगेज रेल

जनकपुर, ३ अस्प्ज । न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पुर्‍याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।

त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो।

यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रूत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि शुक्रबार जनकपुर–जयनगरसम्म रेल सेवा परीक्षण सुरु गरिएको हो।

भारतीय रेल कम्पनी कोकन रेलवे कर्पोरेसन लिमिटेडका प्रतिनिधि इन्जिनियर दीपक त्रिपाठीले विभागका महाप्रबन्धक गुरु भट्टराईलाई रेलका सम्पूर्ण सामग्री हस्तान्तरण गरेका छन । हस्तान्तरण गर्नुअघि १३ सय यात्री बोक्नसक्ने क्षमतासहितको दुईओटा इन्जिन, एसी र जेनरलसहितका तीनओटा बोगी भएको रेल जनकपुरधाम ल्याएर परीक्षण गरिएको हो ।

एक अर्ब रुपैयाँको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिएको छ भने चाँडै नै सर्वसाधारणका लागिसमेत रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । दुवै रेलको सेटलाई अत्याधुनिकरुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेसजस्तै डिजाइन सो रेलको गरिएको छ ।

अगाडि-पछाडि दुवैतर्फ इन्जिन लगाइएकोले ओहोर-दोहोर गर्नका लागि इन्जिन फेरबदल गर्नुपर्ने झन्झट नरहने बताइएको छ । कोरोना संक्रमणको कारण अहिले रेल सर्वसाधारणका लागि सञ्चालनमा ल्याउनु घातक रहेको महाप्रबन्धक भट्टराईले बताए । कोरोना संक्रमण न्यून हुँदै गएपछि डेढ महिनाभित्रै सर्वसाधारणका लागिसमेत रेलवे सञ्चालनमा ल्याउने योजना रेल विभागको छ ।

हाल नेपालमा सो रेल चलाउन प्राविधिक नरहेको अवस्थामा भारतसँगै समन्वय गरेर सञ्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । नेपालले माग गरेअनुसार अन्तर्राष्ट्रियस्तरको मापदण्डमा तयार पारिएको यो अत्याधुनिक रेल रहेको भारतीय रेलवे कम्पनी कोकन रेलवे कर्पोरेसन लिमिटेडका इन्जिनियर दीपक त्रिपाठीले जानकारी दिए ।

लामो प्रतीक्षापश्चात् जनकपुरधाम आएको अत्याधुनिक रेल हेर्न हजारौंको संख्यामा मानिसहरु रेलवे स्टेसन पुगेका थिए । रेल जनकपुर आएपछि स्थानीय निकै उत्साहित देखिएका छन् । रेल सञ्चालन नहुन्जेलसम्म नेपालकै जयनगरस्थित स्टेसनमा सुरक्षा घेराबीच राखिनेछ ।

ब्रोडगेज रेल
ब्रोडगेज रेल
ब्रोडगेज रेल
ब्रोडगेज रेल
ब्रोडगेज रेल
ब्रोडगेज रेल
ब्रोडगेज रेल

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्