काठमाडौं, ८ पुष । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । सो पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेतामा प्रस्ताव गरेकोमा सर्वसम्मतिले दलको नेता चयन गरिएको हो ।
संसद भवन नयाँ वानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका गरी ११५ जना सांसद सहभागी थिए । प्रचण्डलाई संसदीय दलकाे नेता चयन गरेसँगै वैठक सकिएकाे छ ।
प्रचण्डले अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल आफूहरुले नेतृत्व गरेको नेकपा नै रहेको दावी गरेका छन् । ‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको दुनियालाई थाहा छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका छन्’, प्रचण्डको भनाइ छ ।
साथै उनले ९५ जना सांसदपनि आफूहरुसँगै रहेको उनले बताए । उनले अरु पनि आउने क्रम जारी रहेको भन्दै उच्च मनोवलका साथ काम गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । सम्बोधनका क्रममा प्रचण्डले भने, ‘हामी मरेका छैनौ संसद जिउँदो छाैं ।’
उनले सारा संसारले नेकपालाई हेरिरहेको भन्दै जटिल र चुनौतिपूर्ण क्षणमा आफूलाई संसदीय दलको नेतामा चुनेको भन्दै धन्यवाद व्यक्त गरे । उनले विदेशी मिडियाहरुले समेत नेपालको संसद विघटन असंवैधानिक भएको भनिरहेको भन्दै संविधान अनुसार नै संसद विघटन भएको भनाईप्रति संसारका संविधानविदहरु आश्चार्यमा परेको बताए ।
मंगलबारको केन्द्रीय समिति बैठकको निर्णय निर्वाचन आयोगलाई आज जानकारी दिएको पनि उनले बताएका थिए । प्रचण्डले नेपालमा अस्थिरता चाहाने शक्तिले खेलिरहेको भन्दै यसका विरुद्ध सशक्त आन्दोलनका साथै कानुनी रुपमा अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।