प्रकृतिमाथि प्रविधिको प्रहार : सङ्कटमा ग्रामीण क्षेत्र

काठमाडौं, २० भदौ । वातावरणीय अध्ययन नगरी डोजर र स्काभेटरको प्रयोगले जथाभावी खनिएका सडकका कारण वर्षेनी धनजनको क्षति हुनुका साथै प्राकृतिक स्रोत विनास हुनेक्रम बढ्दै गएको छ । हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा राष्ट्रिय गौरवको आयोजना, कृषि सडक, चुनावी प्रतिबद्धता तथा स्थानीयको मागका आधारमा सडक विस्तार भइरहेको छ । सडक विस्तार गर्दा न वातावरणीय अध्ययनको मूल्याङ्कन गरिन्छ न त दक्ष प्राविधिकको राय लिइन्छ ।

पश्चिम र उत्तरी म्याग्दीमा गत असारयता गएका पहिरो र भएको मानवीय तथा भौतिक क्षतिको प्रमुख कारण जथाभावि खनिएका सडक नै भएको वन तथा वातावरण संरक्षणको क्षेत्रमा लागेको व्यक्तिको भनाइ रहेको छ । वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार दीगो विकासका न्यूनतम मापदण्ड पालन नगरी ठूला उपकरणको प्रयोग गरेर सडक खनिदा वर्षेनी बाढी र पहिराको प्रकोप बढ्दै गएको हो ।

वातावरणविद् सापकोटाले भने, “मानवीय क्रियाकलाप नै बाढी पहिराको प्रमुख कारण हो, यहाँको भूगोल पनि अत्यन्त कमजोर हुनु, भीरालो क्षेत्र र सोही क्षेत्रको सिरान र पुछारमा खनिएका मोटरबाटो विपत्तिका कारक हुन् ।” सापकोटाका अनुसार सडक विकासको मेरुदण्ड भएपनि निर्माण गर्दा केही निश्चित सर्तहरु पालना गर्नै पर्छ । ग्रामीण क्षेत्रका अधिकांश भूभागहरु भिरालो भएकोले त्यहाँ सडक खन्दा साना र हलुका इक्युभमेन्टको प्रयोग गर्नुपर्दछ । तर सस्तो र छिटो मोटरबाटो निर्माण गर्ने होडमा हेभी इक्युपमेन्ट प्रयोग गर्दा त्यसले जमीन खल्बलाइ दिने र पानी पर्दा बग्ने समस्या रहन्छ ।

त्यसैगरी सडक खनेपछि सडकको दुवैतर्फ पानीको निकास दिने, वृक्षरोपण गर्ने, फिलिङ गर्ने, सडकको कटिङ गर्दा प्राविधिक सल्लाह लिनुपर्छ । ग्रामीण सडकमा न्यूनतम मापदण्ड पूरा नगरिएको उहाँको भनाइरहेको छ । त्यस्तै डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख सन्तोष खनालले म्याग्दी जिल्ला तीन वटा ठूला जलप्रवाहको जलाधार क्षेत्र भएकाले यहाँको माटो बलौटे हुँदा बाढी र पहिराको उच्च जोखिममा रहेको बताए ।
उनले जथाभावी खनिएका सडकका कारण प्राकृतिक स्रोतको विनास भएता पनि म्याग्दीको हकमा भने वन क्षेत्र नघटेको र यसले वन पैदावर र जङ्गली जनावरलाई क्षति नपुगेको तर्क गरे ।

वन क्षेत्रमा नोक्सानी नभए पनि ग्रामिण क्षेत्रमा कृषि, जडिबुटी, बुट्यान र रुख विना प्रयोजन नष्ट गरिएको उनको भनाइ थियो । त्यसैगरी जैविक विविधतामा ह्रास आउनुका साथै प्रविधिको प्रयोग गरी खनिएका सडकमा वातावरणीय अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

त्यसैगरी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेलले भिरालो भूगोल, कमजोर भूवनोट, छोटो अवधिमा हुने अधिक मनसुनी वर्षाजस्ता प्राकृतिक कारण क्षति भएको बताए । उनले अवैज्ञानिक भूउपयोग, संरक्षण एवं वातावरणमैत्री विकासको अवधारणा विपरीत जथाभावी सञ्चालन गरिने विकास निर्माणका कार्य, वनजङ्गलको विनाश, जनचेतनाको कमी आदि मानवीय कारणले गर्दा नेपालका गाउँबस्ती र कतिपय शहर बजारसमेत हरेक वर्ष बाढी र पहिरोको चपेटामा परी धनजनको क्षति हुँदै आएको बताए ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना विसं २०७४ देखि शुरु भएको हो । त्यससमय आयोजनाका इञ्जिनीयर र प्राविधिकको वैज्ञानिक सडक सर्वे अध्ययन अभावका कारण बेनी—जोमसोम सडकको विभिन्न स्थानमा सालैपिच्छे बर्खायामको मौसममा वातावरणीय विनास हुँदै आइरहेको छ । त्यसो त सडक विस्तारको भौगोलिक सर्भेअघि त्यहाँका माटो परीक्षण लगायत अध्ययन गरिनुपर्ने हुन्छ ।

बेनी—जोमसोम सडकको म्याग्दी र मुस्ताङ खण्डको थासाङमा कमजोर भूसतहका कारण सडकसँगै आएको बाढीपहिरो र नदी कटानले वनजङ्गलको विनास भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले बताए । रासस

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्