पोखरीमा डुबेर बेपत्ता भएकी किशोरी ६ घण्टापछि जिउँदै निस्किएपछि…

सप्तरी, १४ भदौ। पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जिल्लाभरि चर्चा भइरहेको छ। ती किशोरी हुन् सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास। उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा, कोरोना संक्रमणबाट जोगिन कायम गर्नुपर्ने दूरी र मास्क प्रयोगलगायत कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरी जनप्रतिनिधिसहितको भीड स्थानीय वरकी पोखरीमा जम्मा भएको हो । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार गत सोमबार साँझपख उक्त पोखरीनजिक गाउँका ६ जना किशोरी घाँस काट्न गएका थिए ।

घर फर्कने क्रममा मुनचुनकुमारी दासले पोखरीमा फुलेको फूल टिप्न खोज्दा डिलमा रहेको रूखमा ठूलो आवाज आएको र साथीहरूले हेर्दा ती किशोरी पोखरीमा डुबेको अध्यक्ष गोइतको दाबी छ । मुनचुन डुबेपछि स्थानीयले पोखरीभरि खोज्दा फेला नपारेको तर राति १२ बजेतिर डिलमा फेला परेको उनले बताए ।

पोखरीमा डुबेको झन्डै ६ घण्टापछि उनी जिउँदै निस्किनु दैवी चमत्कार भएको भन्दै शुक्रबारदेखि किशोरीलाई हेर्नेको घुइँचो लागेको हो ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले धार्मिक आस्थाको आधारमा देखिएको भिंड व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गर्न गराउन अहिले त्यसतर्फ आवश्यक निर्देशनसहित सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

उक्त पोखरी भारतीय सीमानजिकै पर्छ । जिल्लाका विभिन्न ठाउँ, सिरहा र सीमावर्ती भारतीय क्षेत्रबाट समेत किशोरीलाई हेर्न सर्वसाधारण ओइरिएका छन् । साइकल, मोटरसाइकल, गोरुगाडा, टेम्पोमा मात्र होइन, नजिकका बस्तीबाट पैदलै पनि परिवारसहित पुग्नेहरूको लाम लागेको छ ।

पोखरीनजिकै रहेको मन्दिरको अग्रभागमा मुनचुनकुमारीलाई राखिएको छ। मन्दिरको मूलगेटमा दानपेटिका छ । दर्शन गर्न आउनेहरूले मुनचुनकुमारीलाई ढोग्दै, पैसा चढाउँदै मन्दिरमा समेत दर्शन गर्ने गरेका छन्।

अक्सिजनको संचार हुन नसक्ने सो पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी गरिएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् ।

मुनचुनले आफू डुबेपछि भित्र ठूलो मन्दिर देखेको र त्यहाँ एक जना बाबा भेटेको दाबी गरेकी छन् । ऐतिहासिक पोखरी भएको र आश्चर्यको घटना भएकाले दैवी शक्तिको विश्वासमा भीड लागेको अध्यक्ष गोइतले बताए । शनिबार त्यहीं भेटिएका पूर्वसिँचाइमन्त्री उमेश यादवले आस्थाका कारण सर्वसाधारणको भीड उर्लेको बताए ।

चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन्। गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा. रन्जित झाले सात/आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गरे ।

गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।

घटना बारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताए । उनीहरुले उक्त पोखरी र मन्दिरको ऐतिहासिकता तथा पौराणिकताका बारेमा तथ्यमा पुग्नका लागि पुरातत्व विभागले आवश्यक अनुसन्धान गरि सरकारले उक्त क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए ।

गाउँको उक्त ऐतिहासिक मन्दिर र पोखरीमा दैनिक स्थानिय श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । पोखरीमा स्नान गर्ने र पवित्र भई उक्त मन्दिरमा पूजाआजा गर्ने वर्षौदेखी परम्परा चलिआएको स्थानिय बुढापाकाहरुको भनाई छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्