पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक लाखसम्मको उपचार सेवा निःशुल्क

झापा, १६ माघ । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले एक लाख रूपैयाँसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेको जनाएको छ ।

अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिए । विपन्न परिवारका बिरामीले खर्च अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधोपचार कोषमार्फत् सो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारिसका आधारमा सेवा उपलब्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले जानकारी दिए । मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले सरकारी बीमाजस्तै विपन्न नागरिक उपचार कोषमार्फत् एक लाख रूपैयाँसम्मको उपचार सेवा सञ्चालनमा ल्याएको बताइएको छ ।

नेपाल सरकारले यसअघि चितवनको बिपी कोइराला क्यान्सर अस्पतालमार्फत् एक लाख रूपैयाँको उपचारमा सहयोग दिँदै आएको थियो । अब यो सरकारी सहयोग पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्दा पनि प्राप्त हुने भएको छ ।

हालसम्म अस्पतालबाट १४० बिरामीले यो सुविधाका लागि सिफारिस लिइसकेको बताइएको छ । त्यस्तै २७ हजार ८०० बिरामीले ओपिडीमार्फत् सेवा लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. यादवले जानकारी दिए । उनका अनुसार क्यान्सर अस्पतालले यो सेवा सुरु गरेयता ३०० जनाको सर्जरी भइसकेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्