परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली पुगे तर सीमा विवादबारे छलफल नहुने

काठमाडौं, २ माघ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतसँग संयुक्त आयोगको बैठकमा भाग लिन यही शुक्रबार नयाँदिल्ली पुगेका छन् । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।

ज्ञवालीको दुईदिने भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा विवादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको भारतीय पक्षको भनाइ छ । कोभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् ।

यस्तै उनी प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचनको आह्वान गरेपछि भारत भ्रमण गर्ने पहिलो नेपाली नेता समेत हुन् । गत मंगलबार परराष्ट्र मन्त्रालयले ज्ञवालीको भारत भ्रमणको घोषणा गर्ने क्रममा विज्ञप्तिमा भनिएको थियो कि, बैठकमा सीमा विवादको कुरा पनि उठाइनेछ ।

यद्यपि सीमा मुद्दालाई सामान्य छलफलमै सीमित गर्ने संकेत गर्दै भारतले पहिले प्राविधिक रिपोर्ट पूरा गर्नुपर्ने जनाउँदै आएको छ । भारतले गत वर्ष कालापानी लगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण छ ।

दिल्ली पुगेको मन्त्री ज्ञवाली नेतृत्वको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल पनि सहभागी छन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्