आज गाईगोरु पूजा, हलि तिहार, नेवारी समूदायमा म्हपूजा

काठमान्डाैँ, ३० कार्तिक । नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामका साथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यस अर्थमा म्ह पूजाको अर्थ आफ्नो देह प्रतिको आदर यूक्त याचना हो ।

आजको दिन आत्मतत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो । नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ? म्ह फु अर्थात सञ्चै छ । म्ह मफु अर्थात् सञ्चो छैन ।

म्ह अर्थात देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

अन्य वर्षहरुमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन हुन्थ्यो तर यस वर्ष भनें भोली अर्थात भाइटीकाका दिन गोवरधन पूजा र भिन्तुना पर्न गएको छ ।

गाईगोरु पूजा, हलि तिहार

आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यसकारण पनि आजका दिनलाई हलि तिहार भनिएको हो ।

कृषि कर्ममा सहयात्रा गर्ने जीवहरु गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोकउक्तिमा पाइन्छ । गोवरधन पूजा भोली परेका हुनाले गाइगोरु पूजा भोली पनि गरिन्छ ।

आजको दिनको अर्को ब्यापक रौन्क हो , देउसी । हिजो भैलेहरुको भाका अनि आज देउँसेहरुको भाका । वलिराजाले पठाएका भनेर मानिने टोलछिमेकका पुरुषहरुको यो सांगीतिक दस्ता जस्लाई देउसे भनिन्छ अनि यिनीहरुले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली, जस्लाई देउसी भनिन्छ ।

देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यि भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरु वाहेक धेरै अन्य पक्तिंहरु परिस्थितीपरक हुन सक्छन्, ।

दुवोमौलाए जस्तै मौलाइमा रहुन जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन् । वास्तवमै हामी सबैलाई देउसेले दिएको आशिष लागोस्, सदभाव वढोस् । आजको दिन रिसराग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सदभाव वढाउने चलन छ । देउसीवाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या वाँढेर लिने या वनभोज जाने पुरानो रिती नेपाली समाजमा पुस्तौ पुस्ताले दोहोर्याइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्