ट्राफिक प्रहरीले अबदेखि सवारी चालक र आम नागरिकलाई ‘नमस्कार’ गर्ने

तनहुँ, १७ भदौ । जिल्ला ट्राफिक कार्यालय तनहुँले चालक र आम नागरिकलाई मङ्गलबारदेखि नमस्कार अभियान थालेको छ । आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा सवारी जाँच गर्दै उक्त अभियान शुरु गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रेशमबहादुर रानाभाटले जानकारी दिए ।

प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा निर्देशन भइसकेको उनले बताए । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेको उनले जानकारी दिए ।

यस अभियान अन्तर्गत जाँचचौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदारयुक्त सम्बोधन सहित नमस्कार गर्दै तोकिएको कानून बमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

ट्राफिक प्रहरीले आम नागरिक माथि हुने गरेको दुव्र्यवहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो । आम नागरिक प्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न तनहुँका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेको पहिलो दिनमै रु २० हजार ५०० राजश्व सङ्कलन भएको छ । करिब डेढ घण्टाको अवधिमा सवारी जाँच गर्दा २५ विभिन्न सवारीलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्रक, जिप, मोटरसाइकल, ट्र्याक्टर लगायतका सवारी साधनले ट्राफिक नियम विपरीत सवारी साधन चलाएको भेटिएकाले कारबाही गर्दा सो रकम सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज रानाभाटले बताए । यस अभियानलाई निरन्तरता दिई सवारी जाँचलाई कडाइ गर्दै अघि बढ्ने योजना रहेको उनले जानकारी दिए ।रासस

ट्राफिक प्रहरीले नमस्कार

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्