ट्रकले किचेर सोही ट्रकका साहुको मृत्यु

काठमाडौँ, १० मंसिर । काठमाडौँको नागढुङ्गामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रकका साहु रहेका छन् । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंको ट्रकले किचेर सोही ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मङ्गलबार मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक जेजङ्ग कार्कीले ट्रकभरि सामान लिएर आएको उक्त ट्रकलाई मोड नपुगेपछि साहु विष्ट ट्रकबाट झरेर मोड मिलाउन खोज्दा पछाडिको चक्काले किचेर घटनास्थलमै मृत्यु भएको जानकारी दिए। प्रहरीले ट्रकका चालक सुनसरीका ४२ वर्षीय गोविन्द माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खोलामा बेपत्ता चालकको शव आज बिहान बडिगाड गाउँपालिका–६ मा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । राति १० बजेतिर दुर्घटनामा परेको ट्याक्सी मध्यपहाडी लोकमार्गबाट २०० मिटर तल खसेको थियो ।

ट्याक्सीमा यात्रु भने सवार नरहेको बुझिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक मङ्गल गुरुङले बताए । हिजै राति सोही स्थानमा लु२च ९११९ नंको पिकअज जीप पनि दुर्घटनामा परेको थियो । जीपका चालक बडिगाड गाउँपालिका–९ का २२ वर्षीय किरण केसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । जीपमा पनि यात्रु नरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्