चन्दा उठाएर विराटनगरमा पीसीआर मेसिन खरिद

बिराटनगर, ०६ भदौ। विराटनगर महानगरपालिकामा कोरोना परीक्षणदर बढाउन चन्दा संकलन गरी पीसीआर मेसिन खरिद गरिएको छ। समुदायमै कोरोना संक्रमण फैलिएपछि परीक्षण दर बढाउन महानगरले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरेको हो।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा स्थापना गर्नेगरी कायाजन ७२ बेल कम्पनीको पीसीआर मेसिन खरिद गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिएका छन्‌। मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधावापतको ५ लाख रुपैयाँ प्रदान गरेका छन्‌।

‘मेसिन खरिदसँगै अब नगरबासीको स्वाब परीक्षण सहज हुनेछ,’ मेयर पराजुलीले भने, ‘तीव्र गतिमा पीसीआर परीक्षणको काम हुनेछ, जसले गर्दा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि पनि सहयोग पुग्नेछ।’ महानगरले खरिद गर्दा टेण्डर गर्नुपर्ने र समय धेरै लाग्ने भएपछि आफ्नै पहलमा सहयोगी जुटाएर मेसिन खरिद गरिएको उनको भनाई छ।

खरिद गरिएको मेसिन शनिबार विराटनगर आइपुग्ने र लगत्तै महानगरलाई हस्तान्तरण गरिनेछ। त्यसपछि महानगरले सो मेसिन सञ्‍चालन गर्न कोशी अस्पताललाई हस्तान्तरण गर्नेछ। पीसीआर मेसिन खरिदसँगै समुदायस्तरमा परीक्षणको दर पनि बढाइने विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। सो मेसिन २८ लाख रुपैयाँमा खरिद गरिएको हो।

त्यसबाहेक उद्योगी-व्यवसायी र दाताहरूले रकम जम्मा गरेर मेसिन खरिद गरिएको महानगरले जनाएको छ। प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगरबासीको निकै थोरै स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहँदै आएको थियो।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अञ्चल अस्पतालबाट पीसीआर परीक्षण हुँदै आएको छ। यसअघि दैनिक २०० जनाको पीसीआर परीक्षण समुदायस्तरमा कोरोना फैलिएको विराटनगरमा हाल दैनिक २०० जनाको हाराहारीमा स्वाब संकलन गर्ने काम हुँदै आएको थियो। प्रदेशमा सबैभन्दा बढी कोरोनाको संक्रमण देखिएपनि परीक्षणदर भने न्यून रहेको थियो।

अहिले भने प्रदेश सरकारको तथ्याङ्कअनुसार हालसम्म ६७ हजार १८ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २ हजार ९२ मा कोरोना संक्रमण देखिएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्