कास्की, १६ माघ । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठ’गी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् ।
पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार ५०० ठ’गी गरेको अभियोगमा गत माघ १३ गते पोखरा–१० रामबजारबाट विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।
खाडी मुलुक बसेर आएका उनले आफू पहिल्यैदेखि विदेश बसेको र अरुलाई पनि पठाउन सक्ने भन्दै पैसा असुल गरेका थिए । कास्की प्रहरीका अनुसार धीरजले ३३ जनाबाट ९० लाख रुपैयाँ ठगी गरेका हुन् ।
विश्वकर्माले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी लगायत जिल्लाका व्यक्तिहरुबाट पैसा उठाएका थिए । उनीविरुद्ध १२ माघमा कास्की प्रहरीमा उजुरी परेको थियो । थुप्रै जनासँग उनले पासपोर्ट पनि लिएका थिए । भिसा लिन दिल्ली जानुपर्ने भन्दै आश्वस्त पार्दै आएका थिए । उजुरी परेको भोलिपल्ट अर्थात १३ माघमा प्रहरीले विश्वकर्मालाई पक्रन सकेको थियो । ।