कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक जनाको मृत्यु

चितवन, २४ असोज । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने आज बुटवल १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको अस्पतालले जनाएको छ ।

रुपन्देहीको शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको थियो ।

गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गर्दागर्दे मृत्यु अस्पतालले जनाएको छ । उनलाई पनि निमोनिया र मिर्गौलामा समस्या देखिएको थियो । अहिले अस्पतालको आईसीयूमा १६ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको हो । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

योसहित बाँकेमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *