कोरोना संक्रमणबाट बिदेशमा २ सय ४३ नेपालीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण यो साता विदेशमा विभिन्न स्थानमा ४३ जना नेपालीको मृत्यु पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ ।

यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।

हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

गैरआवासीय नेपाली संघको अनुरोध

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका छन् । विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरेका हुन् ।

संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरे । यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई पनि संयमित भएर आफ्नो उडानको प्रतिक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परिक्षण समयमै गर्न समेत डा. सापकोटाले आग्रह गरेका छन् ।

साउदीमा ६० शव अलपत्र

साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा. राजपुतले ती शव नेपाल पठाउने प्रक्रियामा रहेको जानकारी दिए ।

यस्तै नेपालमा मात्र ५३ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ३७ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत हो । हालसम्म नेपालमा ३ सय ३६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ५ सय ७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै विश्वभर ९० हजार ७ सय ६७ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७८.७ प्रतिशत रहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्