कोरोना भ्याक्सिन: जासूसी र राष्ट्रियता सब जायज

११ अगस्टमा जब मस्कोले कोभिड–१९ को पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ रजिस्टर गर्दा यो खबर संसारभरी आगोसरी फैलियो । सन् १९५७ मा सोभियत युनियनले स्पुतनिक सेटलाइट लञ्च गरेको थियो र स्पेसको दौडमा अन्यलाई पछि पारेको थियो । अब रुसले मेडिकल साइन्समा एउटा ठूलो सफलता हात पारेको दाबी गरिरहेको छ ।

तर आलोचकले भने यो दाबी अतिरञ्जित हो । जुन आशंकासहित यसबारे घोषणा गरिएको छ यसले अन्तरराष्ट्रिय प्रतिस्पर्धाको वास्तविकता बारे जानकारी दिन्छ । यो दौडमा भ्याक्सिन राष्ट्रवादका कुरालगायत छोटकरी, जासुसी, अनैतिक रुपमा जोखिम लिने र एक–अर्का प्रतिको डाहा देखिएको छ ।

हालको समयमा कोभिड–१९ भ्याक्सिन संसारको सबैभन्दा मूल्यवान र व्यग्रताका साथ खोजी गरिएको भ्याक्सिन हो । यसले जीवन त बचाउने नै छ तर यसले उथलपुथलको स्थितीलाई पनि साम्य पार्नेछ र जो देश यो बनाउन सफल हुनेछन् उनीहरुको नाम इतिहासमा दर्ता हुनेछ ।

अमेरिकाको जर्जटाउन युनिभर्सिटीमा ग्लोबल हेल्थ लका प्राध्यापक लोरेन्स गोस्टिन भन्छन्, ‘मैले यो स्वास्थ्य उपकरणका लागि यति गम्भीर राजनीतिक दाबेदारी कहिल्यै देखेको थिइनँ । कोभिड–१९ भ्याक्सिन एक राजनीतिक प्रतिकवादको हिस्सा बनेको छ । यो भ्याक्सिनमार्फत् सुपरपावर्स आफ्नो वैज्ञानिक शक्ति देखाउन चाहन्छन् र यसरी आफ्नो राजनीतिक सिस्टमलाई उच्च स्तरको देखाउन चाहन्छन् ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार संसारमा करिब आधा दर्जन भ्याक्सिनको अन्तिम चरणको ट्रायल चलिरहेको छ । यीमध्ये तीन चीनमा, एक ब्रिटेन, एक अमेरिका र एक जर्मनी–अमेरिका पार्टनरशीपमा छ ।

साधारणतया कुनै भ्याक्सिन विकसित हुन वर्षौंको समय लाग्छ । सबै डेभलपर्स पनि यसलाई तीब्रता दिन थालेका छन् तर रुसको स्पुतनिक भीको रजिस्ट्रेशन एक सामान्य प्रक्रियालाई सर्टकटमार्फत् पूरा गर्ने चिन्तालाई देखाउँछ ।

जुलाईमा बेलायत, अमेरिका र क्यानडाले रुसको गुप्तचर एजेन्सीमाथि खोप अनुसन्धानसँग जोडिएको जानकारी ह्याक गरेको आरोप लगाएका थिए । यद्यपि, रुसले यी आरोप अस्विकार गरेको थियो । गुप्तचर स्रोतले त्यतिबेला यो ह्याक भ्याक्सिनको विकासमा अवरोध पुर्याउनका लागि नभई जानकारी चोर्नका लागि गरिएको अनुमान लगाएको थियो ।

त्यसको अर्को हप्ता यूएस डिपार्टमेन्ट अफ जस्टिजले चीनको गुप्तचर सेवासँग जोडिएका दुई चिनियाँ ह्याकरमाथि भ्याक्सिन विकासलाई निशानामा पारेको आरोप लगाए । चीनले यसलाई ठाडो अस्विकार गर्यो र उसले भाइरसबारे सूचना साझा गरेको र अन्य देशलाई यसका लागि सहयोग गरिरहेको बतायो ।

काउन्सिल अन फरेन रिलेशन्सका ग्लोबल हेल्थ प्रोग्रामका निर्देशक थोमर बोलिकीले भनेका छन्, ‘निश्चित रुपमा छोटकरी बाटो अपनाइँदैछ र विशेषगरी रुसको विषयमा यो किटान गरेर भन्न सकिन्छ । भ्याक्सिन बनाउनु कुनै गाह्रो काम होइन तर यो सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणित गर्नु गाह्रो काम हो । तर यदि देशको रुची भ्याक्सिन बनाउनुमा मात्रै छ भने उनीहरु छोटकरी बाटो अपनाउन सक्छन् ।’

रुसको अन्तिम चरणको परीक्षण बिना र ठूलो परिमाणमा परीक्षण नगरिकनै भ्याक्सिन रजिस्टर गराउने निर्णयमाथि पश्चिमका देशमा निकै आलोचना भइरहेको छ ।

अमेरिकामा बनाइएको कोरोनाभाइरस टास्कफोर्सका एक महत्वपूर्ण सदस्य डाक्टर एन्थोनी फाउचीले रुसको भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी हुने बारे आफ्नो गहिरो शंका जताएका छन् । यता रुसले भने यी आलोचनालाई ‘इर्ष्या’ बताउँदै खारेज गरिदिएको छ ।

अर्कोतर्फ चीनले पनि आफ्नो प्रयासललाई तीब्र पारेको छ ।

चिनियाँ औषधी कम्पनीले आफ्नो वरिष्ठ अधिकारीलाई उनीहरुको इच्छा अनुरुप नै प्रि–टेस्ट भ्याक्सिन परीक्षणको रुपमा दिइएको बताएको छ भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनकी छोरीलाई स्पुतनिक भ्याक्सिनको डोज दिइएको बताएका छन् ।

यी दुबै देशले आफ्ना फौजी जवानमाथि भ्याक्सिनको परीक्षणको योजना बनाइरहेको बताइएको छ । यो कदममाथि नैतिक प्रश्न पनि उठिरहेका छन् किनभने सबै जवान यो भ्याक्सिन लगाउन इच्छुक हुन्छन् भन्ने छैन ।

पिपल्स लिबरेशन आर्मीसँग काम गर्ने चिनियाँ कम्पनी कानसिनोद्वारा विकसित गरिएको एक भ्याक्सिनलाई जूनमा फौजीमाथि प्रयोग गर्ने अनुमती दिइएको थियो । त्यतिबेला यो भ्याक्सिनको फेज–३ को परीक्षण सुरुसमेत गरिएको थिएन ।

प्राध्यापक गास्टिन भन्छन्, ‘अनुसन्धान कार्यमा मानिसहरुको सहभागिताको विषयमा हामीसँग नैतिक मापदण्ड छ । यसमार्फत् भ्याक्सिनको दुरुपयोग हुनबाट जोगाउन सकिन्छ ।’

भ्याक्सिनको माग हेर्दा शर्टकट अपनाउन के नराम्रो कुरा हो ?

परीक्षण पूरा नगरिकन भ्याक्सिनलाई चाँडोभन्दा चाँडो बजारमा उतार्न हतार गर्नाले मानिसहरुलाई अत्यधिक आत्मविश्वासी बनाउन सक्छ र कोरोनको संक्रमणलाई थप बढाउन सक्छ । यदि भ्याक्सिनको साइड इफेक्ट हुन्छ भने यो भ्याक्सिनविरुद्ध अभियान चलाउनेहरुका लागि उत्कृष्ट मौका साबित हुनसक्छ ।

धेरैजसो भ्याक्सिन बनाउने योजना एक व्यावसायिक पहल हो र यसलाई अन्तर्राष्ट्रिय साझेदारीमा विकसित गरिँदैछ । तर यति हुँदाहुँदै पनि सरकारले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर पनि हेरिरहेका छन् र उनीहरुले कसरी संकटसँग जुधिरहेका छन् भनेर देखाउन चाहन्छन् ।

बोलिकी भन्छन्, ‘यसमार्फत् केही देश विशेषरुपमा प्रतिस्पर्धी भएका छन् र आफ्नो देशभित्र उनीहरु महामारीको समयसँग कसरी जुधिरहेका छन् भन्ने अवधारणालाई बलियो बनाउन तल्लीन छन् ।’

अमेरिकामा यो वर्ष चुनाव हुँदैछ । यसका लागि ट्रम्प प्रशासन निकै दबाबमा छ ।

बेलायतमा पनि भ्याक्सिन विकसित गर्नमा सफलता हात लाग्यो भने आलोचनाको सामना गरिरहेका प्रधानमन्त्री बोरिस जोनसोनलाई प्रोत्साहन हुन्छ । उनका स्वास्थ्यमन्त्री म्याट हेन्ककले बेलायत भ्याक्सिन विकसित गर्ने मामिलामा संसारको नेतृत्व गरिरहने बताएका छन् । बेलायतले पनि अन्य देशले झैं यदि कुनै अन्य देशले सफलतापूर्वक भ्याक्सिन बनाउँछ भने त्यसको अनुबन्ध पाउनका लागि आफ्नो दाबी पेश गरिसकेको छ । यसले यो समयको अर्को एउटा पाटो दर्साउँछ ।

भ्याक्सिन राष्ट्रवादः

थोमस बोलिकी भन्छन्, ‘पश्चिमी देशबीच निश्चित रुपमा भ्याक्सिन राष्ट्रवाद हो । यसलाई तपाईंले ब्रिटेन र अमेरिकामा भ्याक्सिनको सुरुवाती खुराकलाई आफ्नो देशका लागि सुरक्षित राख्न अपनाइएको नीति हेरेर बुझ्न सक्नुहुन्छ ।’ यो कुरा साँचो हो कि राष्ट्रवादको उदय कोरोनाभाइरसको सुरुवात हुनुअघि नै सुरु भइसकेको थियो । तर यो रोगले त्यसलाई बलियो बनाइदिएको छ ।

भेन्टिलेटर्स र पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको विषयमा सुरुवाती महामारीका बेला यो देख्न पाइएको थियो कि देशले आ–आफ्नो शिपमेन्टलाई सुरक्षित गर्न कति आतुर थिए । यसले विदेशी आपूर्तिमाथि निर्भरता र घरेलु स्तरमा उत्पादनलाई बढोत्तरी गर्नुपर्ने आवश्यकताको रुपमा देखाउँछ ।

भ्याक्सिन विकसित भएपछि त्यसलाई अन्तरराष्ट्रिय स्तरमा उपलब्ध गराइने भनेर जतिले भनिरहेका छन् उनीहरु आफ्नो प्रयासमा सफल भएपछि सबैभन्दा पहिला आफ्ना देशका नागरिकको जीवन सुरक्षित गर्न र अर्थव्यवस्थालाई सम्हाल्नमा यसको प्रयोग गर्नेछन् । किनभने यदि उनीहरु यो मोर्चामा असफल हुन्छन् भने उनीहरुले मानिसको रिसको सामना गर्नुपर्ने हुनसक्छ र उनीहरुलाई असक्षम मानिनेछ ।

विश्व स्वास्थ्य संगठनका मुखियाले १८ अगस्टमा पुनः ग्लोबल प्रोग्राम जोइन गर्न अपिल गरेका छन् । यसमार्फत् धनी देशलाई भ्याक्सिन बनेपछि गरिब देशलाई प्रदान गर्नका लागि बाटो खुल्ने डब्ल्यूएचओले अनुमान गरेको छ । उनले भने, ‘हामीले भ्याक्सिन राष्ट्रवादलाई रोक्न आवश्यक छ ।’

भ्याक्सिनको प्रयोग अन्य देशको समर्थन पाउनका लागि कुटनीतिक सम्बन्धको एक साधनको रुपमा पनि गर्न सकिन्छ । बोलिकी मान्छन्, ‘हरेक सरकारले केही सुरुवाती खेप कुटनीतिक सम्बन्धमा प्रयोगका लागि राख्न सक्छन् ।’

बजारमा सबैभन्दा पहिला उतार्नुको अर्थ यो होइन कि ती भ्याक्सिन निकै प्रभावकारी पनि छन् । विशेषज्ञले यो एक्लो बिजेता बन्ने समय नभएको भन्दै चेतावनी दिएका छन् । यसको अर्थ यो हो कि भ्याक्सिनलाई विकसित गर्न र त्यसको आपूर्ति गर्ने विषयको प्रतिस्पर्धा एउटा सुरुवात मात्र भएर रहन सक्छ ।

स्रोतः बीबीसी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्