कोरोना अस्पतालको आईसीयुमा बेड नहुँदा मृतकको संख्या बढ्दै

रुपन्देही, १५ भदौ । बुटवलमा कोरोना अस्पतालको आईसीयुमा बेड नहुँदा मृतकको संख्या बढ्ने देखिएको छ । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा १७ वटा आईसीयू बेड छ । तर सबै लक्षण भएका संक्रमितले भरिएका छन् ।

त्यहाँ थप संक्रमित राख्ने अवस्था छैन । अन्य रोगबाट ग्रसित बिरामी राख्नेसमेत ठाउँ छैन । बेड अभाव भएकाले अन्यत्र रिफर गर्ने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

तत्काल एम्बुलेन्स उपलब्ध नहुने, अर्को अस्पताल पुर्‍याउन समय लाग्ने जस्ता समस्याले बिरामीको ज्यान जाने जोखिम हुने गरेको डा. थापा स्वीकार गर्छन् । रुपन्देहीकै भीम अस्पतालमा पनि ५ वटा आइसीयू बेडका उपकरण जडान भएपनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।

संक्रमित थपिएसँगै आईसीयू बेड अभाव खड्किएकाले प्रदेश सरकारले तत्काल आईसीयू र भेन्टिलेटर सहितका बेड थप गर्नुपर्ने कोरोना सरोकार नागरिक अभियन्ताहरुले माग गर्दै आएका छन् ।

सामाजिक विकास मन्त्रालयले प्रदेशमा आईसीयू र भेन्टिलेटर थप गर्न सवा अर्बको बजेट माग गर्दै मन्त्रिपरिषदमा पेश गरेपनि स्वीकृत भएको छैन ।

यता चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्