कोभिड १९ विरुद्धको खोप अभियानको पहिलो दिन ९ हजार बढीले खोप लगाए

काठमाडौं, १४ माघ । कोभिड १९ विरुद्धको खोप अभियानको पहिलो दिन ९ हजार बढीले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा प्रदेश १ मा एक हजार २ सय ५५, २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा एक हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सूदुपश्चिममा एक हजार ८२ जनाले खोप प्राप्त गरेका छन् ।

खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको जारी विज्ञप्तिमा उल्लेख छ । खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा बुधबार खोप लगाइएको छ । यी अस्पतालहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी लगायले स्थलगत अनुगमन समेत गरेका थिए ।

शुक्रराज अस्पतालका निर्देशक डा सागर राजभण्डारी कोभिड १९ विरुद्धको खोप लगाउने पहिलो नेपाली व्यक्ति बनेका छन् । पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ । भारत सरकारले नेपाल सरकारलाई १० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्