कोभिड-१९ को छायाँमा जात्रा चाडपर्व र परम्परा रोकिँदा धार्मिक बिज्ञहरुको यस्तो सुझाव:

काठमाडौँ, २९ असोज। कोरोनाभाइरसको महामारीले विभिन्न चाडपर्व र जात्रामा हुने पूजापाठ रोकिएकाले त्यसले अनिष्ट निम्त्याउने कतिपय धार्मिक गुरुहरूले बताइरहँदा अन्यले विषम परिस्थितिमा धार्मिक परम्परा र रीतिरिवाजलाई समायसापेक्ष बनाउन सुझाव दिएका छन्।

गएको चैत महिनामा नेपाल सरकारले कोभिड-१९ नियन्त्रण गर्ने उद्देश्यले लकडाउन गरेयता कैयौँ मन्दिरहरूमा पूजा पाठ रोकिएका छन् र सामूहिक भेला हुन निषेध गरिएको छ।

त्यसयता राजधानी काठमाण्डूमा वर्षेनि आयोजना हुने शताब्दिऔँ पुराना कैयौँ जात्राहरू कि स्थगित भएका छन् वा सीमित स्तरमा आयोजना गरिएका छन्।

दशैँ र तिहार जस्ता चाडपर्वहरू मुखमै आउन लाग्दा अधिकारीहरूले मन्दिर भित्र हुने नित्यपूजाबाहेक अरू कुनै किसिमका सामूहिक धार्मिक गतिविधिलाई खुला गर्ने अवस्था नरहेको बताएका छन्।

कोरोनाभाइरसको महामारीका कारण लकडाउन लागु गरिएयता राजधानी काठमाण्डूको स्थानीय नेवार समुदायले उच्च महत्त्व दिने गाइजात्रा, रातो मच्छिन्द्रनाथको जात्रा, इन्द्रजात्रा जस्ता पर्वहरू यसपालि नराम्रोसँग प्रभावित भए।

रातो मच्छिन्द्रनाथ जात्रा सञ्चालनको विषयमा प्रहरी र स्थानीय समुदायबीच पाटनमा झड पहुँदा कर्फ्यू नै लगाउनुपर्ने अवस्था आयो। पछि सुरक्षाकर्मीको उपस्थितिमा विधि पुर्‍याउने हिसाबमा मात्रै उक्त जात्रा आयोजना गरियो।

लकडाउन गरिएयता भक्तजनहरूका लागि पशुपतिनाथ जस्ता महत्वपूर्ण मन्दिरहरू पनि बन्द छन्। सरकारी निर्णयका कारण पूजा पाठमा अवरोध भएको र त्यसले धार्मिक आस्थामा चोट पुर्‍याइरहेको कतिपय धार्मिक अगुवाहरू बताउँछन्।

अन्नका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अगुवाइ गर्ने मूल पुरोहित कपिल वज्राचार्य भन्छन्, “मेरो परिवारले शताब्दिऔँदेखि यो पूजा गर्दै आएको छ। मेरो कार्यकालयमा जात्रा चलाउन नसकेकोकोमा म असाध्यै दु:खी छु।”

उनले थपे, “नेपाल ३३ कोटी देउताहरूको घर हो। यदि भगवान् रिसाए भने कोरोनाभाइरस भन्दा नराम्रो अनिष्ट आउँछ। मलाई लाग्छ सरकारले धार्मिक गतिविधिहरू गर्न नदिएर पाप गरिरहेको छ।”

राजधानीको वाल्मीकि विद्यापीठकी सहप्राध्यापक तथा इतिहासपुराणकी ज्ञाता प्रियंवदा काफ्ले सामाजिक दूरी कायम गरेर जात्रा र पूजाआजा गर्ने व्यवस्था सरकारले नगरिदिँदा भगवान्‌लाई विश्वास गर्ने मानिसहरू निराश भएको बताउँछिन्।

उनले भनिन्, “तरकारी किन्दा पनि कोरोनाभाइरसको सङ्क्रमण हुनसक्छ। अरू चिज चाहिँ गर्न दिने तर भगवान्‌लाई मन्दिरमा गएर नमस्कार गर्दा सङ्क्रमण बढिहाल्छ जस्तो मलाई लाग्दैन।”

उनले थपिन्, “जुन परम्परामा हामी जन्मियौँ त्यसमा हाम्रा पितृहरूले, हाम्रा देवताहरूले हामीसँग आश गरेका हुन्छन्। आश गरेकोमा हामीले पूजा पाठ नै नगरेर निराश पारेपछि पितृले दिने आशीर्वाद पनि पाइँदैन। देउताले दिने आशीर्वाद पनि पाइँदैन। अनि अनिष्ट भइहाल्छ नि।”

कतिपय अन्य संस्कृतिविद् तथा धार्मिक अगुवाहरूले महामारी जारी रहेकाले यो वर्षलाई असामान्य वर्षका रूपमा लिइनुपर्ने र पूजा पाठलाई एकदमै सीमित रूपमा घरभित्रै केन्द्रित गरिनुपर्ने सुझाव दिइरहेका छन्। संस्कृतिविद् सत्यमोहन जोशी चाडपर्व वा जात्रा मनाउने विषयमा ध्यान दिइरहँदा मानिसहरूले विज्ञानले भनेको कुरालाई मान्नुपर्ने बताउँछन्।

गएको वैशाखमा १०१ वर्ष पुगेका उनले भने, “पहिलापहिला मानिसहरू देवीदेवता रिसाएर माहामारी देखा पर्‍यो भन्ने गर्थे। काठमाण्डूमा आकाशभैरवको अगाडि भेला भएर देउताहरूलाई रिझाउन नेवारी खानेकुरा चढाउँथे अनि शान्तिस्वस्ति गर्ने चलन थियो। यो महामारी नेपालमा मात्रै देखिएको भए अहिले पनि त्यस्तै हुन्थ्यो।”

उनले भने, “तर सर्वत्र कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले हामी सबैले वैज्ञानिक पद्धति नै मान्नुपर्छ। परम्परा कायम गर्ने नाममा समुदायमा कोरोनाभाइरस पस्यो भने नियन्त्रण गर्न सकिँदैन र सबै स्वाहा हुन्छ। जात्रा वा पर्वको नाममा भिड गरेर सामूहिक रूपमा भोजभतेर गर्नु ठिक हुँदैन।”

काठमाण्डूकी जीवित देवी कुमारीको रेखदेख गर्दै आएका इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य पाका संस्कृतिविद् जोशीको धारणमा सहमत देखिन्छन्।

उनले भने, “केही मानिसहरूले हामीले राम्रोसँग पूजाआजा गरेनौँ भने नराम्रो हुनसक्छ भन्ने आशङ्का गर्छन्। तर मलाई लाग्छ हामी जीवित रह्यौँ भने मात्रै हामीले हाम्रा चाडपर्व र जात्राहरू भविष्यका सन्ततिका लागि जोगाइदिन सक्छौँ।”

“हामीले यसपालिको दशैँमा अष्टमीको दिनमा कुमारीलाई तलेजु मन्दिरमा लैजाने या नलैजानेबारे टुङ्गो गरिसकेका छैनौँ। तर मलाई लाग्छ पहिलाको वर्षहरूमा जस्तो योपालि भिड हुँदैन। तर हामी कुमारीलाई त्यहाँ लगेर जोखिम उठाउन चाहँदैनौँ।”

हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले पूजा गर्ने कुमारीलाई दुर्गाको प्रतीक मान्ने गरिन्छ। राजधानीको हनुमानढोकानजिकै रहेको कुमारीघरबाट वर्षमा करिब १२ पटक कुमारीको सवारी चलाउने गरिएको भए पनि लकडाउन सुरु भएयता उनी आफ्नो निवासमै छिन्।

कुमारीघरभित्रै पूजापाठ भइरहेको भन्दै गौतमले जीवित देवी स्वयंले पनि मास्क र स्यानिटाइजरको प्रयोगजस्ता सुरक्षा सावधानी अपनाइरहेको बताए। कोरोनाभाइरसको महामारीलाई ध्यान दिँदै प्रत्येक दशैँको अष्टमी, नवमी र चतुर्दशीमा हनुमानढोकाको मूल चोकमा दिने गरिएको ५८/५८ वटा बोका र राँगाको बलि यसपालि नदिने निर्णय स्थानीय अधिकारीहरूले गरिसकेका छन्।

तर तलेजुको मूर्ति हनुमानढोकाको मूल चोकमा ल्याएर राख्ने र त्यसमा भिडभाड नगरी पूजा गरिने प्रमुख पूजाको व्यवस्थापन गर्ने जिम्मा पाएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका राजभाइ श्रेष्ठले बताए।

सम्पदा संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर चाडपर्व र जात्रा प्रभावित हुँदा दु:खी भएपनि कोभिड-१९ को चुनौतीअनुसार यसपालि त्यसलाई समयसापेक्ष बनाइनुपर्ने बताउँछन्।

उनले भने, “खासगरी हाम्रो समुदायमा हाम्रो विस्तारित परिवारका सदस्यहरू एकै ठाउँमा बस्ने चलन छ। दशदेखि १५ घरका दाजुभाइ एउटै चोकका वरिपरि हुन्छन्। मेरै कुरा गर्ने हो भने अगाडि पछाडिको १७ वटा घरमध्ये १० वटा आफ्नै परिवारका सदस्यहरूको छ। दशैँमा टीकाको दिन एकै ठाउँमा खड्गको पूजा र जात्रा गर्ने चलन छ। त्यो गर्न नपाउँदा स्वाभाविक रूपमा धेरै नराम्रो लाग्छ।”

“तर अहिलेको समाजमा मानिसहरू धेरै शिक्षित भएर चेतना पनि उच्च भएको कारणले गर्दा एक पटकको लागि त्यो नगर्दा पनि हुन्छ वा गर्नैपरे एकदम न्यूनतम मानिसहरू सहभागी भएर गर्नुपर्छ भन्ने मेरो विचार हो।”

काठमाण्डूका रैथाने समुदायले विगतमा विनाशकारी भूकम्प गएको समयमा समेत जात्रा र रीतिरिवाज नरोकेको पनि दृष्टान्त दिने गरेका छन्।गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले पूजापाठ, मेला र पर्वहरूमा रोक लगाउने निर्णय कायम रहेको बताए।

उनी भन्छन्, “मठमन्दिरमा हुने गरेका नित्यपूजा भइरहेका छन्। हामीले मानिसहरूलाई समाजिक दूरी कायम गर्न र स्वयम् अनुशासनमा बस्न भनेका हौँ।” नेपालमा अहिलेसम्म ८६,००० भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने मृतकको सङ्ख्या ५०० नाघेको छ।

काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले चाडपर्वका बेला बढ्ने मानिसको आवतजावतले कोभिड-१९ रोग अझ फैलिन सक्ने चिन्ता बढेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्