अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट मार्चसम्म तीब्र रुपमा बढ्न सक्ने स्वास्थ्य अधिकारीको चेतावनी

अमेरिकाका स्वास्थ्य अधिकारीले कोरोना भाइरसको नयाँ भेरियन्ट जुन सबैभन्दा पहिला बेलायतमा देखिएको थियो, त्यसले मार्च महिनासम्म अमेरिकामा सबैभन्दा ठूलो समूहलाई संक्रमित गर्न सक्ने चेतावनी दिएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले यस्तो चेतावनी दिएको हो । सिडिसीका अनुसार अबको केही हप्तामा भाइरसको यो नयाँ भेरियन्टको तीब्र फैलावट देख्न पाइनेछ ।

सिडिसीका अनुसार हिउँद अघि नै कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि देखिएको थियो, यस्तोमा नयाँ भेरियन्ट बढ्दा स्वास्थ्य प्रणालीमा भारी दबाब पर्ने सम्भावना छ । शुक्रबार नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले महामारीसँग लड्ने आफ्नो योजना पेश गरेका थिए । तत्पश्चात् सिडिसीले यस्तो चेतावनी दिएको हो । जो बाइडेनका अनुसार खोप अभियान तीब्र गर्नु पर्नेछ । यसका लागि उनले एक योजना पनि पेश गरेका छन् ।

विशेषज्ञका अनुसार कोरोनाको नयाँ भेरियन्ट पहिलाको तुलनामा थुप्रै गुणा संक्रामक छ तर यो नयाँ भेरियन्ट पहिलेको तुलनामा बढी घातक छ भन्ने कुराको कुनै प्रमाण भेटिएको छैन । तर केही विशेषज्ञले अहिलेको खोपले कोरोनाको यो नयाँ भेरियन्टमा खासै प्रभावकारी नहुने आशंका पनि व्यक्त गरेका छन् ।

फाइजरको खोप पाउनमा ढिलाई भएपछि युरोपेली संघ रुष्ट

यूरोपेली संघका थुप्रै देश अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिन पर्याप्त रुपमा नपाएपछि रिसाएका छन् । अमेरिकी कम्पनी फाइजरले भ्याक्सिनको आपूर्तीमा थोरै ढिलाई गरेको बताइएको छ । स्विडेन, डेनमार्क, फिनल्याण्ड, लिथुएनिया, लातविया र एस्टोनियाले यो स्थितीलाई अस्विकार्य बताउँदै यसले खोप अभियानको प्रक्रियाको विश्वसनीयता घट्ने चेतावनी दिएका छन् ।

यी देशले यूरोपेली संघलाई औषधी निर्माता कम्पनी फाइजर–बायोएनटेकमाथि दबाब दिन अपिल गरेका छन् । जबकी फाइजरले आपूर्तिमा आएको कमी एक अस्थायी समस्या भएको बताएको छ । शुक्रबार एक बयान जारी गर्दै कम्पनीले भनेको थियो, ‘कम्पनीले भ्याक्सिनको उत्पादन बढाउनका लागि केही आवश्यक परिवर्तन गरेको छ जसको अस्थायी असर भ्याक्सिनको आपूर्तिमा देख्न पाइएको छ । तर फेब्रुअरीको दोस्रो हप्तासम्म स्थिती सामान्य हुनेछ र सबैले पर्याप्त डोज पाउनेछन् ।’

बेलायतले पाउने भ्याक्सिनको आपूर्तिमा पनि यो परिवर्तनको असर देखिएको छ । तर बेलायतको सरकारले उनीहरुले खोप अभियानको लक्ष्य हासिल गर्ने बताएका छन् । बेलायत सरकारको लक्ष्य फेब्रुअरी महिनासम्म करिब डेढ करोड मानिसहरुलाई कोरोना भ्याक्सिन लगाउने हो । बेलायतमा फाइजर कम्पनी एक्लो आपूर्तिकर्ता होइन । अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायत सरकारले पाउन थालिसकेको छ ।

यद्यपि, बेलायतजस्तै युरोपेली संघले पनि फाइजरबाहेक अमेरिकी कम्पनी मोडर्नाको भ्याक्सिनको प्रयोगको मञ्जुरी दिइसकेको छ । तर यो भ्याक्सिनको प्रोग्राममा केही ढिलाई छ । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्