अभिनेत्री करिश्मा मानन्धर ‘महानायिका’ को उपाधिबाट सम्मानित

अभिनेत्री करिश्मा मानन्धरलाई ‘महानायिका’ को उपाधिले सम्मान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।

अभिनेत्री मानन्धर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म निर्माणले भर्खर-भर्खर गति लिन थालेको थियो । १४ वर्षको कलिलो उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनय करिअर सुरु गरेकी उनले फिल्म क्षेत्रमा तीन दशक विताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गरिसकेकी करिश्मा आफ्नो समयकी सबैभन्दा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

करिअरको उत्कर्षमा रहँदा ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएकी उनले फिल्म निर्माणमा समेत हात हालेकी छन् । ‘ढुकढुकी’ बाट राम्रो मुनाफा कमाएकी उनलाई ‘बाबुसाहेब’ ले भने नराम्रोसँग डुबायो । यसपछि निराश भएर २०६१ सालमा अमेरिका गएकी उनी करीब ९ वर्ष त्यहीँ बसिन् ।

अमेरिकामा रहँदा उनी ‘नेम र फ्रेम’ बाट टाढा थिइन् । जसका कारण उनी खुसी हुन सकेकी थिइनन् । तर, अमेरिका छाडेर उनी नेपाल फर्किन पनि सकेकी थिइनन् । एपी वान टेलिभिजनले सुरु गरेको ‘किताव जात्रा’ को ‘पर्दा भित्र र पर्दा बाहिर’ सेसनमा अभिनेत्री मानन्धरले लेखक कर्ण शाक्यको किताबमा उल्लेख भएका तीन वटा शब्दले आफूलाई नेपाल फर्काएको बताएकी छन् ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा करिश्मालाई राजेश हमाल लगायतले महानायिका देखिने स्यासे र क्राउन लगाइदिएका थिए । कार्यक्रममा केही ख्यातिप्राप्त व्यक्तित्वहरूलाई पनि सम्मान प्रदान गरिएको थियो । कलाकार नीर शाह, लोडसेडिङ हटाउने कुलमान घिसिङ, गीतकार डा. भोला रिजाल, गीतकार मीनसगर लामा लगायतका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो । सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङ, महानायक राजेश हमाल र मिस ग्रान्ड नेपाल उरुषा जोशीले सम्मान गरेका थिए ।

समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो । सिङ्गिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् । कार्यक्रममा सिङ्गिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

‘म एक कलाकार हुँ । यसलाई मैले अरू कलाकारहरूले मलाई गरेको सम्मानको रुपमा लिएकी छु,’ करिश्माले सम्मान पाएपछि भनेकी छन्, ‘म जे छु त्यसलाई आत्मसात गरेर सम्मान गर्नुभयो। त्यसमा खुशी छु ।’

कार्यक्रममा करिश्मा जस्तोसुकै परिस्थितिमा पनि आफू सिनेमाबाट टाढा नहुने बताइन् । ‘नमरुन्जेल पर्दामा आइरहने प्रक्रिया जारी नै हुनेछ,’ उनले भनिन् । आरके इन्टरटेनमेन्ट ग्रुपले फिल्म क्षेत्र चलायमान राख्न र योग्य व्यक्तिलाई सम्मान गर्न महानायिकाको दर्जाबाट करिश्मालाई सम्मान गरेको बताएको छ ।

आरके इन्टरटेनमेन्ट ग्रुपले एघार वर्षअघि, आफ्नो नवौं वार्षिकोत्सवमा अभिनेता राजेश हमाललाई महानायकको उपाधिबाट सम्मान गरेको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्