अनेरास्ववियु विवाद सामाजिक सञ्जालमा छताछुल्ल

काठमाडौँ, १६ भदौ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले गत आइतबार ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भनेर ट्वीट गरे।

उक्त ट्वीटको बिषयलाई लिएर मनिसहरुबाट धेरै थरिका प्रतिक्रिया आए। कतिले उनको कुरामा सहमति जनाए त कतिले विरोध गरे। तर उनलाई समर्थन गर्ने भन्दा गालि गर्नेको संख्या धेरै भेटियो।

सोमबार तामाङले अर्को ट्वीट गरे- आफू सिसाको घरमा बसेर अरूको घरमा ढुंगा हान्ने मुर्खलाई के भनौ र! उक्त ट्वीटबारे पनि अनेरास्ववियुका नेता-कार्यकर्ता बहसमा उत्रिएका छन्। तामाङका यी दुई ट्वीट र त्यसमा आएका प्रतिक्रिया हेर्दा थाहा हुन्छ- अनेरास्ववियुमा आन्तरिक कलहले गहिरो जरा गाडिसकेको छ।

विवादको पछिल्लो श्रृंखला भदौ १२ गतेदेखि सुरू भएको हो। लकडाउन र निषेधाज्ञाले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलतामा केन्द्रित रहेर तामाङले भदौ १२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २१ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

ज्ञापन पत्रमा उनको मात्रै हस्ताक्षर छ। संयोजक ऐन महरको सहमति नलिई एकतर्फी रूपमा ज्ञापनपत्र बुझाएको भन्दै अनेरास्ववियुका केही नेताले तामाङलाई कारबाही गर्नुपर्ने माग राखेका छन्।

अनेरास्ववियुको झण्डा र लेटरप्याडको दुरूपयोग गरेको भन्दै संयोजकको हस्ताक्षर नभएको कुनै पनि डकुमेन्ट आधिकारिक नहुने उनीहरूको तर्क छ। पार्टी एकतासँगै पूर्वएमालेको भागमा अनेरास्ववियु परेकाले महर संयोजक छन् भने पूर्वमाओवादीका तामाङ सहसंयोजक बनेका हुन्।

अहिले पूर्वएमाले पक्षधरले तामाङको चर्को आलोचना गरिरहेका छन् भने पूर्वमाओवादी पक्षधर उनको बचाउमा लागेका छन्। विशेष गरेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरका विद्यार्थी नेताहरूले तामाङलाई संगठनबाटै हटाउनु पर्नेसम्मका माग राखेका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्