बेलायतमा ब्याप्त रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट (प्रकार) पहिलेका प्रकारहरु भन्दा ७० प्रतिशत सम्म बढी घातक रहेको सरकारका वैज्ञानिक सल्लाहकारहरुले बताएका छन् । भाइरसमा देखिएको म्युटेसनले कोभिड–१९ रोगको विशेषतालाई परिवर्तन गर्नेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
सरकारी वेबसाइटमा न्यु एन्ड इमर्जिङ रेस्पीरेटरी भाइरस थ्रेट एडभाइजरी ग्रुपले गरेको अनुसन्धान शुक्रबार प्रकाशित गरिएको थियो । केन्ट भेरियन्ट भनिने कोरोना भाइरसको नयाँ प्रकार बारे गरिएका दर्जनौँ अध्ययनलाई आधार बनाएर प्रकाशित उक्त रिपोर्ट जारी गरिएको हो ।
रिपोर्टमा उक्त भेरियन्ट ३० देखि ७० प्रतिशत सम्म थप घातक रहेको उल्लेख गरिएको छ । पुराना भेरियन्ट र नयाँ भेरियन्टमा अस्पताल भर्ना भएका बिरामी र मृत्यु दरलाई अध्ययनमा आधार बनाइएको बताइएको छ । एजेन्सी